अर्थ

भारतबाट अब दिनहुँ १५ घण्टा बिजुली: औद्योगिक क्षेत्रलाई राहत



काठमाडौँ, १९ वैशाख । भारतबाट दैनिक १५ घण्टा बिजुली आयात हुने भएको छ ।

शुक्रबारदेखि बिहान ६ देखि साँझ ५ (सोलार आवर) र राति २ देखि बिहान ६ बजेसम्म बिजुली आयात गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट दिनहुँ ६ सय मेगावाट बिजुली १५ घण्टा आयात गर्ने अनुमति दिएको हो । गत चैत १५ यता प्राधिकरणले बिहान ६ देखि साँझ ५ सम्म र राति ११ देखि बिहान ४ बजेसम्म गरी दिनहुँ १६ घण्टा बिजुली आयात गर्दै आएको थियो ।

आयातित बिजुली र आन्तरिक उत्पादन बढ्दो क्रममा रहेकाले अब औद्योगिक क्षेत्रमा हुने बिजुली कटौती हुने क्रम घट्दै जाने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।

भारतबाट टनकपुर–महेन्द्रनगर प्रसारण लाइनबाट ५४ मेगावाट बिजुली आयात भइरहेको छ । गत मंसिरमा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले चैत २ सम्म दिनको २० घण्टा थियो । गत चैत ३ देखि सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्रै आयात गर्ने अनुमति थियो । भारतको इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईईएक्स) को डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत नेपालले बिजुली खरिद गर्दै आएको छ ।

औद्योगिक क्षेत्रमा नियमित र भरपर्दो विद्युत् उपलब्धतालाई प्राथमिकतामा राखेर काम गरिरहेको प्राधिकरणको भनाइ छ । औद्योगिक क्षेत्रको मागअनुसार कम भएको विद्युत् आपूर्ति आन्तरिक उत्पादनले उपलब्ध गराउन नसक्दासम्म भारतबाट अधिकतम मूल्यमा समेत आयात गर्ने प्रयास गरिएको छ ।