राजनीति

हाम्रा नीति सही छन्, ढुक्कले लाग्नुस : प्रधानमन्त्री ओली



काठमाडौँ, २१ वैशाख । सत्तारूढ एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमको समर्थन गर्दै यसको पक्षमा संसद्मा प्रभावकारी ढंगले भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

पार्टी संसदीय दलको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम प्रगितिशील, व्यावहारिक र जनमुखी रहेको निष्कर्ष निकाल्दै यसको पक्षमा सकारात्मक भएर लाग्ने निर्णय गरेको हो । 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नीति तथा कार्यक्रमको पक्षमा प्रभावकारी ढंगले संसद्मा प्रस्तुत हुने निर्णय बैठकले गरेको बताए । देशमा व्याप्त गहिरो निराशा हटाउन, जनतामा आशा र उत्साहको सञ्चार गर्न अनि देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजाने उद्देश्य नीति तथा कार्यक्रमले बोकेको बैठकको निष्कर्ष रहेको उनले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनको पक्षमा आएकाले ढुक्कका साथ दृढतापूर्वक यसको पक्षमा उभिन सांसदहरूलाई निर्देशन दिएका थिए । ‘हाम्रा नीति सही छन्, यसमा साथीहरू ढुक्कले लाग्नुस,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नु पर्दैन । हामी सही कुराको पक्षमा दृढतापूर्वक उभिनुपर्छ ।’