अर्थ

अण्डाको माग बढ्यो



चितवन, २१ बैशाख । गर्मीसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्न थालेको छ ।

गर्मीका कारण कुखुराले दाना कम खाने हुँदा अण्डाको आकार र सङ्ख्या दुवै घट्ने गर्दछ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा. अनन्त दाहालका अनुसार गर्मीसँगै कुखुराले अण्डा कम दिन थाल्दछ ।

मुख्य रोग पनि यही मौसममा देखा पर्ने गर्दछन्। पानी परेर आद्रता बढ्दा कुखुरालाई गर्मीका कारण हुने तनाव निकै बढ्ने उनको भनाइ छ । उनले भने, “अझै अण्डाको उत्पादन घट्दै जाने छ।” गर्मी उच्चविन्दुमा पुग्दा २५ प्रतिशतसम्म उत्पादन घट्ने उनको भनाइ छ।

नेपाल कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले उत्पादन घटेपछि माग धान्न मुस्किल हुन थालेको बताए। चार महिनाअघिसम्म दैनिक ४० हजार कार्टुन अण्डा उत्पादन हुने गरेकामा अहिले घटेर २८ हजार हाराहारीमा झरेको उनको भनाइ छ। गर्मीसँगै दानाको मूल्य उच्च र अण्डाको मूल्य कम भएपछि धेरै किसानले कुखुरा बिक्री गरेको र चल्ला राख्न नसकेका कारण अण्डाको सङ्ख्या घटेको हो । विद्यालय, क्याम्पस खुलेका र पर्यटक बढेका कारण बजारमा अण्डाको माग बढेको उनी बताउँछन् । माग बढेसँगै किसानले उत्पादन गरेको अण्डाको मूल्य बढ्दो क्रममा छ ।