काठमाडौँ, २२ वैशाख । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको अभावमा बस्ती सार्नुपर्ने अवस्था अन्त्य गरिने प्रतिबद्धता जनाएका छन् ।
ईलामको श्रीअन्तु सामालबुङमा आइतबार आयोजित कार्यक्रममा उनले प्रत्येक नेपाली नागरिकका घर-घरमा सुरक्षित खानेपानी भन्ने दृढ संकल्पका साथ अघि बढिरहेको बताए । शुद्ध खानेपानीको अभावले देखा परेका समस्या समाधान गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको मन्त्री यादवले बताए ।
उनले भने, ‘खानेपानी समस्याकै कारण देशका कयौँ ठाउँमा अहिले पनि नागरिकले बस्ती सार्नुपर्ने अवस्था छ । सरकारले खानेपानीका समस्या समाधानका लागि ठोस योजना अघि सारेको छ । खानेपानीकै लागि बस्ती सार्नुपर्ने अवस्थाको अन्त्य गर्छौं । म आफ्नो बाँचाअनुसार नागरिकका घर-घरमा शुद्ध खानेपानी पुर्याउने हेतुले अहिले देशका दुर्गमदेखि सुगम ठाउँमा पुग्दैछु । नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी अवश्य पुर्याउँछु ।’
ईलामको श्रीअन्तु सामालबुङ खानेपानी आयोजनाअन्तर्गत सुर्योदय नगरपालिका ४ र ५ का करिब दुई हजार १३४ घरपरिवार र ११ हजार ७६९ जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ । यो आयोजनाको खानेपानी प्रणाली २५० घरधुरीमा जोडिएको बताइएको छ । सिद्धी खोला र श्रीअन्तु खोलाबाट पानी संकलन उक्त आयोजना सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्