काठमाडौँ, २२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय निरूपण गर्न प्रयासरत रहेको प्रस्ट पार्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार द्वन्द्वपीडित एवं अभियन्ता देवी खड्कासहितका प्रतिनिधिसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले मानवताविरुद्धका घटनामा संलग्नलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले १० बर्से सशस्त्र द्वन्द्वकालदेखि नै शान्तिका पक्षमा स्पष्ट कुरा राख्दै आएकाले अहिलेको सरकारका पालामा गठन हुने आयोग र यसको प्रक्रियामा अविश्वास नगर्न पनि सरोकारवालासँग आग्रह गर्नुभयो । उहाँले द्वन्द्वबाट सिङ्गो राष्ट्र पीडित भएकाले अब यसको समाधानमा लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मलाई पीडितसँग खेल्नु, छक्याउनु र अलमल्याउनु छैन । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुग्ने दिशामा जाऊँ भन्ने मात्रै मेरो ध्यान हो । शान्तिका पक्षमा लाग्दालाग्दै हाम्रा नेताहरूलाई पनि अमानवीय रूपमा मारिएको छ । समग्रमा भन्ने हो भने हिंसात्मक राजनीतिबाट हामी सबै पीडित छौँ । त्यस बेलाका द्वन्द्वरत पक्ष सरकार र माओवादी पनि पीडित छन् । पीडक पनि त्यहीँभित्र छन् । द्वन्द्वबाट देशै पीडित छ । अब यस्ता शृङ्खला सधैँका लागि रोकौँ भन्ने हाम्रो प्रयास हो, यो प्रक्रियामा नआत्तिएर धैर्यपूर्वक, असल र सही परिणाम ल्याउनका निम्ति एक भएर लाग्न आग्रह गर्छु ।”
प्रधानमन्त्री ओलीले राजनीतिक असमझदारीका कारणले सङ्क्रमणकालीन न्यायको प्रक्रिया लामो समय लिएको स्पष्ट पार्दै बलात्कार जस्ता मानवताविरुद्धको जघन्य अपराध गर्नेलाई कानुनी कठघरामा उभ्याएर सजाय दिएरै छाड्ने तथा पीडितलाई न्याय र परिपूरण दिएरै छाड्ने उद्घोष गर्नुभयो । प्रधानमन्त्री ओलीले द्वन्द्वमा प्रत्यक्ष संलग्न नहुँदा नहुँदै पनि आफ्नो पार्टी एमाले पनि एक प्रकारले पीडित भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्