समाचार

डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति



काठमाडौँ, २२ वैशाख । डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ ।

सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइने जिल्लाका सबै पाटन जेठ ५ गतेदेखि सङ्कलकका लागि खुला गर्ने निर्णय गरेको हो । 

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको आयोजनामा बसेको बैठकले पाटन खोल्नेदेखि संरक्षण र व्यवस्थित गर्नेसम्मका निर्णय गरेको छ । जिल्लाका सयौँ बुकी पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि एक महिनाको समयाअवधि तोकेर सर्वसाधारणका लागि हरेक वर्ष खुला गरिन्छ । यार्सा पाटन आगामी असार ५ गते पुनः बन्द हुने छन् । वैशाख तेस्रो सातादेखि नै यार्सागुम्बा सङ्कलन गर्न सर्वसाधारण उच्च हिमाली भेग जाने गरेका छन् ।  

यार्सा पाटनहरुमा वन र निकुञ्जले सुरक्षा व्यवस्था मिलाएको छ । सङ्कलकले एक महिनाको समयमा सबै पाटनमा प्रवेश शुल्क तिरेर यार्सागुम्बा सङ्कलनको अनुमित पाउने गरेका छन् । निकुञ्ज क्षेत्रका वन प्रवेशका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले प्रवेश शुल्क लिने छ भने मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुले सेवा शुल्कबापतको छुट्टै शुल्क लिन पाउनेछन् ।