काठमाडौँ, २३ वैशाख । सरकार आफैँले विदेशमा बन्ड जारी गर्न सक्ने भएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको वैदेशिक सहायता परिचालन नीति, २०८२ ले सरकार स्वयम्ले यस्तो बन्ड जारी गर्न सक्ने उल्लेख गरेको छ । तोकिएका विकाससम्बन्धी आयोजनामा लगानी जुटाउन यस किसिमको बन्ड जारी गर्ने नीति सरकारले लिएको हो ।
नीति अनुसार सरकार स्वयम्ले वा राष्ट्रिय/अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहभागितामा दिगो विकास, ऊर्जा तथा हरित विकाससम्बन्धी आयोजनामा लगानी गर्न निश्चित प्रतिफल दरको अनसोर वा अफसोर सार्वभौम बन्ड जारी गर्न सक्ने छ । लामो समयदेखि सरकारले विदेशमा बन्ड जारी गर्न सक्ने योजना बनाइए पनि अर्थले पहिलो पटक यसलाई नीतिमै उल्लेख गरेको हो ।आन्तरिक ऋण परिचालनका लागि सरकारले टे«जरी बिल, विभिन्न किसिमका बचतपत्र जारी गरे जस्तै तोकिएका आयोजनामा लगानी जुटाउन विदेशमा पनि बन्ड जारी गर्न सक्ने नीति अख्तियार गरिएको हो ।
निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुने तोकिएका आयोजनामा लगानी जुटाउन पूर्वाधार फन्ड स्थापना गर्न सरकारले सहजीकरण गरिदिने नीति पनि सरकारले लिएको छ । ‘निजी क्षेत्रको नेतृत्वमा यातायात, ऊर्जा तथा औद्योगिक पूर्वाधार आयोजना विकास गर्ने कम्पनीमा सेयर लगानी गर्न वा क्रेडिट लाइन सुविधा उपलब्ध गराउन पूर्वाधार कोष (फन्ड) स्थापना गर्न सरकारले नीतिगत सहजीकरण गर्ने’ नीतिमा उल्लेख छ ।
त्यस्तै साझेदारीलाई आकर्षक बनाउन त्यसमा संलग्न निजी क्षेत्रलाई बाह्य पुँजीमा पहुँच स्थापित गर्न सहजीकरण गर्ने विषय पनि नीतिमा समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्