राजनीति

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सतर्कता



काठमाडौँ, २५ वैशाख । भारत र पाकिस्तानबीच तनाव चर्किएपछि नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालेको छ ।

दुई मुलुकबीचको तनावको मौका छोपेर नेपाल–भारत सीमा क्षेत्रबाट हुन सक्ने अवैध घूसपैठ रोक्न एपीएफ सतर्क भएको हो । एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको जानकारी दिए । जोखिमका सम्भावित स्थानमा निगरानी पनि भइरहेको उनले बताए ।

अनधिकृत घूसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको सहप्रवक्ता थापाले जानकारी दिए ।

थापाका अनुसार सीमा क्षेत्रलाई व्यवस्थित गर्न र अवैध घूसपैठ रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरिँदै छ ।