काठमाडौँ, २५ बैशाख । रुपन्देहीमा विद्यार्थी बोकेर गुडिरहेको एक निजी स्कुलको बसमा आगलागी भएको छ ।
रुपन्देही प्रहरीका अनुसार शुद्धोधन गाउँपालिका-४ फर्साटिकरमा सञ्चालित लिटिल फ्लावर बोर्डिङ स्कुलको बसमा एक्कासी आगो लागेको हो ।
गुडिरहेको बसमा करिब ४० जना विद्यार्थी रहेकामा आगो लागेलगत्तै उनीहरुलाई चालक र सहचालकले बसबाट बाहिर निकालेर मानवीय क्षति हुन नदिएको प्रहरीले जनाएको छ । घर-घरबाट विद्यार्थी चढाएर विद्यालय नजिक पुगेको बसमा अचानक धुवाँ सहित आगो लागेको र लगत्तै चालक, सहचालक र स्थानीयले विद्यार्थीलाई बस बाहिर निकालेर मानवीय क्षति हुनबाट रोकेको हो ।
आगलागीबाट विद्यालयको लु१क १३२६ नम्बरको बस भने पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ । बसमा लागेको आगो दमकलले निभाएको थियो ।
प्रतिक्रिया दिनुहोस्