Banner News

८४ सालमा माओवादी पहिलो पार्टी बन्ने निश्चित : अध्यक्ष प्रचण्ड



पाँचथर, २८ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी अब कुनै दलको बैसाखी नबन्ने उद्घोष गर्नुभएको छ ।

शनिबार माओवादीले पाँचथरको फिदिममा आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘२०७४ मा एमाले र २०७९ मा कांग्रेसको बैसाखी बन्यौं, हाम्रै बल बुताले उनीहरू पहिलो पार्टी बने, पटकपटक सरकारमा पुगे तर उनीहरूले हाम्रो गुन देखेनन्, सधैं हामीलाई नै सिध्याउन लागि परे ।’

सरकारले जनअपेक्षा अनुरूपको काम गर्न नसक्दा जनताले आफू र माओवादी केन्द्रलाई समर्थन गर्ने क्रम निरन्तर अघि बढिरहेको उहाँको दाबी छ।

‘पछिल्लो पटक सरकारबाट बाहिरिएपछि हामीप्रति जनताको विश्वास बढेको छ, हिमाल पहाड र तराईका जनताले हामीप्रति दर्शाएको विश्वासले हामी ०८४ सालमा पहिलो पार्टी बन्ने निश्चित छ’, उहाँको दाबी छ। 

प्रचण्डले २०६४ सालमा माओवादीले पहिलो पार्टी बने पनि जनभावना अनुरूप काम गर्न नसक्दा पार्टी विश्वास घट्दो क्रममा रहेका बखत पछिल्लो समय आफूले उठाएका मुद्दाले जनताको मन पुनः आफ्नो पार्टीप्रति फर्किएको उहाँको दाबी थियो ।