काठमाडौँ, २८ वैशाख । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई कार्यान्वयनयोग्य तथा नतिजामुखी बनाउन योजना तथा कार्यक्रममा व्यापक हेरफेर गरिने बनाउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले स्रोतको चुनौतीपूर्ण अवस्थालाई हेरेर योजनाको प्राथमिकीकरण र बजेट प्रणालीमा रहेको समस्याको समाधानका लागि हस्तक्षेपकारी नीति अवलम्बन गरिने बताउनुभएको हो ।
मन्त्री पौडेलले भन्नुभयो, “बजेट विनियोजन र कार्यान्वयनका बिचमा ठुलो खाडल सिर्जना भएको छ र त्यसो हुनुमा हामी नै जिम्मेवार छौँ । चालु आवमा मात्रै ११ हजारभन्दा बढी योजना प्रोजेक्ट बैङ्कमा थपिनुले पनि हाम्रो विनियोजन कुशलता कति छ भन्ने देखाउँछ । अहिले म थप खाल्डो खन्न होइन विगतका सरकारले खनेको खाल्डो पुर्न खोजिरहेको छु यसमा सबै क्षेत्रको साथ आवश्यक छ । आगामी आवको बजेटलाई यथार्थपरक बनाउन प्रयास गर्ने र कार्यान्वयन सुनिश्चितासहितको बजेट ल्याउने तयारी गरिरहेको छु ।”
अर्थतन्त्रका परिसूचकमा बिस्तारै सुधार आउँदै गएको भए पनि विगतमा स्रोत व्यवस्थापनको ठुलो खाडल देखिएकाले त्यसलाई पुर्न अझै केही समय लाग्ने उहाँको भनाइ छ । बजेट प्रणालीलाई मार्गदर्शन गर्ने महत्वपूर्ण दस्ताबेजका रूपमा संविधान रहेकाले सोही अनुसारको नीति अवलम्बन गरिने अर्थमन्त्री पौडेलले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्