राजनीति

बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे



काठमाडौँ, २९ वैशाख । सभामुख देवराज घिमिरेले आन्तरिक तथा बाह्य द्वन्द्वबाट आक्रान्त विश्वमा बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार भएको बताएका छन् ।

२५६९औँ बुद्ध जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा नेपाली दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै विश्वभर फैलिएको बुद्ध धर्मको मूल उद्गम थलो नेपाल हो भन्ने तथ्यले नेपालीलाई गौरवको अनुभूति हुने उल्लेख गरेका हुन् । नेपालमा बौद्ध धर्म मात्र एक धार्मिक आस्था नभई हाम्रो सभ्यता, संस्कार र परम्परासँग पनि गहिरो रूपमा जोडिएको उनको भनाइ छ ।

उनले भनेका छन्, “गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको ऐतिहासिक दिनको स्मरणमा मनाइने बुद्ध जयन्तीले हामीलाई शान्ति, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बुद्ध जयन्तीले विश्वभरका करोडौँ मानिसहरूलाई सुमार्गमा लम्कन उत्प्रेरित गरेको छ । नेपाललाई ‘शान्तिको भूमि’ भनिनुका पछाडि यही ऐतिहासिक तथा आध्यात्मिक पृष्ठभूमि प्रमुख कारण हो, बुद्ध धर्मको मूल आधार पञ्चशीलले व्यक्ति, समाज र राष्ट्रलाई शुद्ध आचरणतर्फ डोर्‍याउने मार्ग देखाउँछ ।”

बुद्धका उपदेशहरू मेलमिलाप, विश्वास, समता र करुणामा आधारित भएको र ती शिक्षाहरूलाई जीवनशैलीमा आत्मसात् गर्नु नै आजको विश्वका लागि मानवता, सहिष्णुता र सहअस्तित्वको मार्ग भएको उनको भनाइ छ ।