काठमाडौँ, ३० वैशाख । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग कात्तिकसम्म निर्माण सकेर सवारीसाधन सञ्चालन गर्ने तयारी सरकारको तयारी छ । सुरुङ सञ्चालन गर्न लाग्ने वार्षिक करिब ३५ करोड उठाउन सवारीसाधनको शुल्क निर्धारण प्रक्रिया अघि बढाइएको छ । सडक विभागले सुरुङ सञ्चालन खर्चअनुसार शुल्क प्रस्ताव गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको थियो । मन्त्रालयले शुल्कको प्रस्ताव सडक बोर्ड नेपालमा पठाएको छ । बोर्डले शुल्क स्वीकृतिका लागि बिहीबारसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी गरेको छ ।
मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि शुल्क निर्धारण हुने सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीले बताए । ‘सडक विभागले तय गरेको शुल्कबारे भौतिक पूर्वाधार मन्त्रालयमा छलफल भएको थियो,’ उनले भने, ‘विभागले तोकेको शुल्कलाई नै स्वीकृत गराउन बिहीबारसम्म मन्त्रिपरिषद् पठाइसक्छौं ।’ सुरुमा कायम भएको शुल्क दुई वर्षसम्म परिवर्तन नहुने गरी मन्त्रिपरिषद्बाट स्वीकृत गराउने केसीले जनाए ।
मन्त्रालयले बोर्डमा पठाएको शुल्क सवारीअनुसार फरक–फरक छ । कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रो बसलाई उपत्यका भित्रिँदा ७५ र बाहिरिँदा ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्ता सवारी दिनको ८ सय ५९ हाराहारी संख्यामा भित्रिने र ६ सय ४६ संख्यामा बाहिरिने आयोजनाको अनुमान छ ।
मिनी बस, मिनी ट्रक र टिपरलाई भने उपत्यका भित्रिँदा १ सय २५ र बाहिरिँदा १ सय रुपैयाँ शुल्क तय गरिएको छ । यी सवारी प्रतिदिन ५ सय ४० को संख्यामा उपत्यका भित्रने र ४ सय ६ वटाको संख्यामा बाहिरिने आयोजनाको अनुमान छ ।
बस र ट्रकलाई उपत्यका छिर्दा २ सय ५० र बाहिरिँदा २ सय रुपैयाँ शुल्क लाग्नेछ । यस्ता सवारी दिनको ७ सय ९४ भित्रने र ५ सय ९७ बाहिरिने आयोजना कार्यालयको अनुमान छ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ५ सय र बाहिरिँदा ३ सय रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ । यी सवारी दिनको ५ सय ९६ भित्रने र बाहिरिने ४ सय ४८ रहेको आयोजनाको अनुमान छ ।
अहिले मुख्य राजमार्गबाट गुड्ने सवारीमध्ये ६० प्रतिशतले सुरुङ प्रयोग गर्ने अनुमानसहित तथ्यांक निकालिएको सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख विजय जैसीले बताए । ‘सुरुङ मर्मतसम्भार र सञ्चालन खर्च उठ्ने गरी नै टोल शुल्क तोकेका हौं । केही दिनमा शुल्क मन्त्रिपरिषद्बाट स्वीकृत होला,’ उनले भने । नौबिसेबाट मुख्य राजमार्ग हुँदै काठमाडौं आउँदा बढी उकालो पर्ने, सवारीसाधन धेरै हुने भएकाले भित्रिँदा र बाहिरिँदा फरक–फरक शुल्क तोकिएको उनको भनाइ छ ।
तेस्रो पक्ष छनोट गरेर सुरुङ सञ्चालनको जिम्मा दिइने सडक विभागले जनाएको छ । यसका लागि विभागले ‘सेवा–प्रदायकमार्फत सार्वजनिक पूर्वाधारको सञ्चालन, व्यवस्थापन र मर्मत सेवा खरिद गर्नेसम्बन्धी निर्देशिका–२०८१’ तयार गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छ । ‘अब भौतिकबाट सार्वजनिक खरिद अनुगमन कार्यालय पुग्छ, उक्त कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइन्छ, मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि यो कार्यान्वयनमा आउँछ,’ उनले भने ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ भने जारी भइसकेको छ । निर्देशिकाअनुसार सुरुङ सञ्चालनमा आएपछि पैदलयात्री, दुई पांग्रे, तीन पांग्रे सवारी साधन र नन मोटोराइज्ड सवारीले सुरुङमा प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिनेछ ।
१८ मिटर लम्बाइ वा २.५ मिटर चौडाइभन्दा ठूला सवारीसाधन सुरुङभित्र चलाउन नपाइने जनाइएको छ । मालवाहक सवारीको भारबहन नियमन निर्देशिका, २०७४ र सडक विभाग तथा यातायात व्यवस्था विभागबाट जारी भारबहनसम्बन्धी निर्देशिकाले तोकेको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनलाई सुरुङमार्गमा निषेध गरिएको छ ।
महिना दिनदेखि प्रहरी सुरक्षामा काम
सुरुङमार्गमा एक महिनादेखि प्रहरी सुरक्षामा काम भइरहेको छ । निर्माणको काम अन्तिम चरणमा रहेका बेला चन्द्रागिरि नगरपालिका–२ स्थित टुटीपाखाका स्थानीयले आफूहरूका माग आयोजनाले पूरा नगरेको भन्दै गत चैत ३ देखि ३० सम्म काम ठप्प पारेका थिए । वार्ताका लागि पटक–पटक बोलाउँदा पनि नआएपछि आयोजनाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत प्रहरी सुरक्षामा रोकिएको काम पुनः सुरु गरेको हो ।
यति बेला प्रहरी सुरक्षामै बलम्बुको किसिपिडीमा फ्लाईओभर, सडक, सुरुङभित्रको काम र धादिङतर्फको सुरुङको मुखमा पहाड सुधारको काम भइरहेको छ । ९० प्रतिशत निर्माणको काम सकिइसकेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । ‘अहिले पनि प्रहरीकै पहरामा काम भइरहेको छ, स्थानीयको समस्या समाधानका लागि चन्द्रागिरि नगरपालिकाले समन्वय गर्नुपर्ने हो,’ उनले भने, ‘तर नगरपालिकाले स्थानीयलाई बोलाएको छैन ।’
अहिले सुरुङभित्र लाइटिङ, फायरफाइटिङ, भेन्टिलेसन र कंक्रिट सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुरुङभित्र राखिएका उपकरण चलाउन विद्युत् जडान गर्ने काम थालिएको छ । अहिलेबाटै सुरुङको ‘टेस्टिङ कमिसनिङ’ को काम गर्दै लगिने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख जैसीले बताए । टोल प्लाजा र इन्टरनेट जोड्ने काम बाँकी रहेको उनले सुनाए ।
२०८२ कात्तिकभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाको दाबी छ । २०७६ कात्तिक ४ मा निर्माण सुरु भएको सुरुङमार्ग ४२ महिनाभित्र सकिनुपर्ने थियो । तर काम भने ६६ महिना बित्न लाग्दा पनि सकिएको छैन । सुरुमा कोभिड र पछि स्थानीयको अवरोधका कारण आयोजना सम्पन्न गर्न ढिला भएको आयोजनाको दाबी छ । अहिले पटक–पटक स्थानीयको अवरोधले काममा ढिलाइ भएको सडक विभागले जनाएको छ ।
सिस्नेखोलाबाट नागढुंगा सडक हुँदै बलम्बुसम्म आइपुग्न ३३ र बाहिरिँदा २३ मिनेट समय लाग्ने आयोजनाको भनाइ छ । तर सुरुङमार्ग सञ्चालनमा आएपछि ७ मिनेटमै सिस्नेखोलाबाट बलम्बुको किसिपिडी आइपुगिने आयोजनाले बताएको छ । आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भएका छन् । बलम्बुको किसिपिडीबाट सुरुङमार्ग प्रवेश गर्ने मुख टुटीपाखासम्म २.३०७ किमि सडक दुई लेनमा कालोपत्रको काम भइसकेको छ ।
मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर र आपत्कालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । परियोजनाको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ, जसमा जापानको १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । सुरुङ निर्माणमा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले काम गरिरहेको छ ।
प्रस्तावित शुल्क : बाहिरिन सस्तो, भित्रिन महँगो
सवारीसाधन | उपत्यका भित्रँदा | उपत्यकाबाट बाहिरिँदा |
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रो बस | ७५ रुपैयाँ | ५० रुपैयाँ |
मिनी बस, मिनी ट्रक र टिपर | १२५ रुपैयाँ | १०० रुपैयाँ |
बस र ट्रक | २५० रुपैयाँ | २०० रुपैयाँ |
हेभी सवारी (लरी) | ५०० रुपैयाँ | ३०० रुपैयाँ |
दिनहुँ कति भित्रिन्छन्, कति बाहिरिन्छन् ?
कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रो बस | ८५९ भित्रिन्छन् | ६४६ बाहिरिन्छन् |
मिनी बस, मिनी ट्रक र ट्रिपर | ५४० भित्रिन्छन् | ४०६ बाहिरिन्छन् |
बस र ट्रक | ७९४ भित्रिन्छन् | ५९७ बाहिरिन्छन् |
ठूला ट्रक र हेभी सवारी (लरी) | ५९६ भित्रिन्छन् | ४४८ बाहिरिन्छन् |
कान्तिपुर
प्रतिक्रिया दिनुहोस्