अर्थ

रौतहटका छ स्थानीय तहको आर्थिक कारोबार बन्द



रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ ।

विद्युतीय भुक्तानी प्रणालीबाट मात्र आर्थिक कारोबार नगरेको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले ईशनाथ नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, वृन्दावन नगरपालिका यमुनामाई गाउँपालिका तथा राजपुर नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लक गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मार्फत विद्युतीय कोष हस्तान्तरण गर्न बारम्बार ताकिता गरे पनि रौतहटका केही स्थानीय तहले चेक नै प्रयोग गर्ने गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ । 

फतुवा विजयपुर नगरपालिकाले हालसम्म एउटा पनि कारोबार विद्युतीय भुक्तानी प्रणालीबाट गरेको छैन भने ईशनाथ नगरपालिकाले यो आवको १० महिनामा ९६ हजार ५२० रुपियाँको मात्र कारोबार विद्युतीय भुक्तानी प्रणालीबाट गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले जनाएको छ ।