राजनीति

रवि र छविका निवेदन आज पनि हेर्न नमिल्नेमा



काठमाडौँ, ३१ वैशाख । सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदन आज तेस्रो दिन पनि हेर्न नमिल्नेमा परेका छन् । 
 
आज न्यायाधीश डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा परेका निवेदनमा न्यायाधीश मुसलमानले हर्न नमिल्ने भएको हो । 

न्यायाधीश मुसलमानले छविलाल जोसीको मुद्दा चल्नेक्रममा अनुसन्धानका लागि पक्राउ पर्दा नै बन्दीप्रत्यक्षीकरणको मुद्दा हेरेकाले अहिले हेर्न नमिल्ने भनेपछि आज पनि हेर्न नमिल्नेमा परेको हो ।

आइतबार लामिछानेका निवेदन न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा परेका थिए । न्यायाधीश हुनुअघि पोखरेलले नागरिकता र राहदानी मुद्दामा लामिछानेका तर्फबाट वकालत गरेका कारण निवेदन हेर्न नमिल्नेमा परेको थियो । 

मंगलबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेकोमा त्यहाँ पनि हेर्न नमिल्नेमा परेको थियो । 

यही वैशाख ७ गते लामिछानेका तर्फबाट श्रीमती निकिताले गैरकानुनी थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । वैशाख ९ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।