काठमाडौँ, ३१ वैशाख । राष्ट्रिय गौरवका आयोजनाको संख्या बर्सेनि थपिँदै गए पनि प्रगति सुस्त गतिमा भइरहेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।
आज सार्वजनिक भएको ६२औँ वार्षिक प्रतिवेदनका अनुसार, राष्ट्रिय गौरवका आयोजनाको संख्या बढेर २७ पुगेको छ ।
राष्ट्रिय गौरवका आयोजनाका लागि संशोधित मध्यमकालीन बजेट अनुमान २२ खर्ब ७२ अर्ब ४२ करोड ६१ लाख रहेकोमा गत वर्ष २०८०८१ सम्म गौतमबुद्ध विमानस्थल र माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न भएका छन् ।
यी दुई आयोजनाबाहेक चार खर्ब ८७ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । गौरवका आयोजनामध्ये दुई आयोजना सम्पन्न भएका छन् । समष्टिगत भौतिक प्रगति ८० प्रतिशत वा सोभन्दा माथि हासिल गर्ने ३, ५० देखि ८० प्रतिशत हासिल गर्ने ६ आयोजना रहेको कार्यालयले जानकारी गराएको छ ।
यस्तै, ५० प्रतिशतभन्दा न्यून प्रगति हासिल गर्ने आयोजना ६ तथा भौतिक प्रगति नखुलेका आठ आयोजना तथा सुरु नभएका २ आयोजना छन् । आर्थिक वर्ष २०७८/७९ मै सम्पन्न भइसक्नुपर्ने पशुपति क्षेत्र विकास कोषको हालसम्मको प्रगति ८८ प्रतिशत भए पनि सम्पन्न हुने अवधि तोकेको छैन ।
प्रतिक्रिया दिनुहोस्