काठमाडौँ, ३ जेठ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टमाथि ५० लाख अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।
कार्यकारी निर्देशक भट्टले बवरमहलमा निर्माणाधिन केन्द्रीय कार्यालय भवनमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गत चैत्र ३ गते अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीको दर्ता नं.सि ०५३८८५ हो ।
निगमको बबरमहलस्थित केन्द्रीय कायर्णलय पूर्ण सुसज्जित भवन निर्माणसम्बन्धी टेन्डर प्रक्रियामा ठुलो आर्थिक अनियमितता भएको उजुरीमा आरोप लगाइएको छ । टेन्डर दस्तावेजमा पहिले नै समावेश गरिएका सामाग्रीहरूलाई पुनः ‘भेरिएसन’को नाममा बिलमा दोहोर्याएर करिव ५० लाख रुपैयाँ बराबरको अतिरिक्त आर्थिक भार निगममाथि थोपरिएको उल्लेख छ ।
उजुरीमा निगमका तत्कालीन निर्देशकद्वय दिपक बराल, विनितमणि उपाध्याय, राम बञ्जारा, नवविनोद पोखरेल तथा कार्यकारी निर्देशक चण्डिका भट्टलाई अनियमिततामा संलग्न भएको भन्दै कडा छानबिन र कारबाहीको माग गरिएको छ । उजुरीकर्ताले टेन्डर र बिड डकुमेन्ट झिकाएर सत्य तथ्य छानबिन गरी संलग्न सबैलाई कारबाही गर्न आग्रह गरेका छन् । सो उजुरीमाथि अनुसन्धान अघि बढाइएको अख्तियार स्रोतले जनाएको छ ।
निगमको पारदर्शिता, कार्यक्षमता र प्रभावकारी नेतृत्व अभावका कारण मन्त्रालयको विश्वास गुमाएका कार्यकारी निर्देशक भट्टमाथि छानबिन, कारबाही र नेतृत्व परिवर्तनको प्रक्रिया तीव्र भएको छ । अख्तियारमा दर्ता भएको गम्भीर आर्थिक अनियमितताको उजुरी र मन्त्रालयको आन्तरिक मूल्यांकनले उनलाई बर्खास्त गरिने संकेत स्पष्ट देखिएको छ ।
मन्त्रालयले सोध्यो स्पष्टीकरण
नेपाल आयल निगमका कार्यकारी निर्देशक गम्भीर आरोपहरू लाग्दै गएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्पष्टीकरण सोधेको छ । मन्त्रालय स्रोतका अनुसार भट्टले जिम्मेवारी सम्हाल्दा गरेका प्रतिवद्धता पूरा नगरेको प्रारम्भिक निष्कर्ष निकाल्दै स्पष्टीकरण सोधिएको हो ।
सोही आधारमा मन्त्रालयले भट्टलाई सात दिनको म्याद दिँदै स्पष्टीकरण मागेको थियो । भट्टले दुई सातासम्म पनि स्पष्टीकरणको जवाफ नपठाएपछि बोलाएर सोधपुछ गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
कर्मचारी असन्तुष्ट
निगमभित्रका कर्मचारीहरू समेत भट्टको कार्यशैलीप्रति असन्तुष्ट छन् । उनीहरूका अनुसार भट्टले विगतका कार्यकारी निर्देशकहरू सुरेन्द्र पौडेल र उमेश थानीले थालनी गरेका योजनाहरूको निरन्तरतासमेत दिन नसकेको, नयाँ कुनै पनि योजना अघि नबढाएको र सिंगो कार्यकाल कर्मचारी सरुवा, बढुवा र प्रशासनिक काममै खर्चिएको आरोप छ ।
असोजमा नै अमलेखगञ्जमा पाइपबाट पेट्रोल ल्याएर परिक्षण गरिएको भएपनि अझैसम्म उद्घाटन गरेर नियमित गर्न सकिएको छैन । त्यसैगरी अमलेखगञ्ज लोथर र सिलिगुुडी चारआली पाइपलाइन निर्माणको काम पनि अलपत्र छ । यी दुवै कमजोरीको दोष पनि उनै कार्यकारी निर्देशक भट्ट माथि लगाईएको छ ।
भट्टको निराशाजनक अवस्था: नाफा देखाए पनि पारदर्शितामा प्रश्न
कार्यकारी निर्देशक भट्टले एक वर्षभन्दा बढीको कार्यकालमा कुनै नयाँ परियोजना अघि बढाउन सकेका छैनन् । नाफा देखाएर बोनस वितरण गरे पनि आम उपभोक्ता भने ठगिएको महसुस गरिरहेका छन् ।
आर्थिक वर्ष २०८०/८१ मा निगमले ३ खर्ब ५६ अर्ब बराबरको इन्धन आयात गरी ३ खर्ब ६४ अर्ब बराबरको बिक्री गरेको तथा ९ अर्ब ५५ करोड नाफा कमाएको विवरण छ । तर यो नाफा व्यवस्थापन क्षमताको परिणाम नभई उपभोक्तामाथि मूल्यभार थोपरेर ल्याइएको भन्ने आरोप सार्वजनिक रुपमा उठेको छ ।
प्रतिक्रिया दिनुहोस्