राजनीति

गृहमन्त्रीद्वारा सगरमाथा आधार शिविरको निरीक्षण



काठमाडौँ, ३ जेठ । गृहमन्त्री रमेश लेखकले सगरमाथा आधार शिविर (बेसक्याम्प) क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् ।

पर्यटकीय सिजनमा आरोही र शान्ति सुरक्षासम्बन्धी अवस्थाको अवलोकन गर्न आज उनी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविर पुगेका हुन् ।

त्यसक्रममा गृहमन्त्री लेखकले सरकार सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकको सहजताका निम्ति निर्बाध रूपमा हेलिकोप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए । उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धानिम्ति हेलिकोप्टर अत्यावश्यक रहेको उल्लेख गरे ।

सरकारको नीति यस्तो सेवालाई सहज र समन्वित बनाउने दिशामा केन्द्रित हुने उनले स्पष्ट पारे । “हामी उद्धारका हेलिकोप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौँ,” उनले भने ।

सगरमाथा क्षेत्रमा उद्धारबाहेकका हेलिकोप्टर उडान रोक्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाले बारम्बार हेलिकोप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गर्दै आएको गृह मन्त्रालयले जनाएको छ ।