अर्थ

गभर्नर नियुक्ति ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना



काठमाडौँ, ४ जेठ । राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलको शनिबारको बैठकमा सरकारको आलोचना भएको छ । कांग्रेसले प्रस्ताव गरेको व्यक्तिलाई गभर्नर नबनाउनकै लागि सरकारले ढिलाइ गरिरहेको आशंका गर्दै कांग्रेस सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकामा संशय प्रकट गरेका छन् । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले विकल्पमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थविद् विश्व पौडेलको नाम गभर्नरका लागि प्रस्ताव गरेको छ ।

पौडेलले गत आइतबार गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामासमेत दिइसकेका छन् । तर, उनको नाम प्रस्ताव गरेको एक साता पुग्दासमेत गभर्नर नियुक्ति प्रक्रिया सुरु भएको छैन, जसका कारण कांग्रेस सांसदहरूले प्रधानमन्त्री ओलीको भूमिकामाथि आशंका गरेका हुन् ।

यसअघिका बैठकमा प्रधानमन्त्री ओलीका कारण नभएर राष्ट्र बैंककै प्रक्रियाले गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको भन्दै सरकारको प्रतिरक्षा गर्दै आएका कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार भने कुनै प्रतिक्रिया दिएनन् । ‘गभर्नर नियुक्ति र गठबन्धनबारे सांसदहरूले राखेका गम्भीर धारणाप्रति सभापतिज्यूले कुनै प्रतिवाद गर्नु भएन, सरकारको प्रतिरक्षा पनि गर्नु भएन,’ कांग्रेस सांसद राजेन्द्र बजगाईंले भने, ‘बजेटको विषयमा मात्रै संक्षिप्त धारणा राख्नुभयो ।’

गत चैत २४ मा राष्ट्र बैंकको गभर्नरबाट महाप्रसाद अधिकारीले अवकाश पाएपछि सरकारले अर्को गभर्नर नियुक्ति गर्न सकेको छैन । कानुनी प्रावधानअनुसार गभर्नर निवृत्त हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्ति भइसक्नुपर्ने भए पनि हालसम्म हुन सकेको छैन । गत चैत १० मा नै अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा सिफारिस समिति गठन भएको थियो । गभर्नर नियुक्तिमा चलखेल बढेपछि यसबीचमा समितिका सदस्य रहेका पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । उनको ठाउँमा निवर्तमान गभर्नर अधिकारीलाई नै सदस्य नियुक्ति गरिएको छ ।

अर्का सदस्य पौडेलको नाम गभर्नरमा प्रस्ताव भएपछि उनले पनि राजीनामा दिइसकेका छन् ।

उनी विज्ञतर्फबाट सदस्य थिए । उनको ठाउँमा बुधबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य पोषराज पाण्डेलाई सदस्य नियुक्ति गरिसकेको छ । समितिले पूर्णता पाइसके पनि सिफारिस समितिका अध्यक्षसमेत रहेका अर्थमन्त्री पौडेलले बैठक बोलाएका छैनन् ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भए पनि नियुक्ति ढिलाइबारे आफू अनविज्ञ रहेको बताए । ‘दलको बैठकमा किन ढिलाइ भएको हो भन्नेबारे सांसदहरूले कुरा उठाउनुभएको छ,’ घिमिरेले भने, ‘तर किन ढिलाइ भइरहेको छ, मैले पनि बुझ्न सकेको छैन ।’

कांग्रेस सांसद हृदयराम थानीले एकातिर सरकारले सात दिनभित्र काम नगर्नेलाई कारबाही गर्न सकिने भनेर कानुन बनाउने, अर्कोतर्फ निमित्त गभर्नरको भूमिकामा रहेकी नीलम ढुंगानाले कार्यकारी निर्देशक भट्टको राजीनामा एक महिनासम्म पनि स्वीकृत नगरी राख्ने भन्दै सत्ता सञ्चालक शीर्ष नेतृत्वप्रति प्रश्न गरेका थिए । ‘कानुन नमान्दा हामीले प्रधानन्यायाधीश र अख्तियारका प्रमुखलाई समेत हटाएको नजिर छ । तर, राजीनामा स्वीकृत गर्ने भूमिकामा रहेकी निमित्त गभर्नरमाथि सरकारले केही गर्न नपर्ने ?’ थानीको प्रश्न थियो, ‘सरकारलाई अटेर गर्ने शक्ति एउटा कर्मचारीलाई कहाँबाट प्राप्त भयो ?’

सांसद सरिता प्रसाईंले सरकारमा जाँदा पहिलो पार्टी भएर गएको कांग्रेस बाहिरिने बेलासम्म दोस्रो हुने खतरा रहेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराइन् । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली आफ्नो दललाई ठूलो बनाउने योजनाका साथ अघि बढिरहेको भन्दै धेरै विश्वास गरेर नबस्न सभापति देउवालाई सचेत गराएकी थिइन् ।

सांसदहरूले नयाँ आर्थिक वर्षको बजेट वितरण समानुपातिक र समन्यायिक रूपमा हुनुपर्ने मागसमेत राखेका छन् । मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रकेन्द्रित बजेट पारेर अन्य ठाउँलाई बेवास्ता गरे बजेट पास नगर्ने चेतावनी दिए । सरकारले तीन करोडभन्दा माथिको संघ, एक करोडसम्मको प्रदेश र त्यसभन्दा कम रकमको योजना स्थानीय तहलाई दिने गरी लिएको नीतिगत निर्णयमा पनि सांसदहरूको असन्तुष्टि थियो ।

कांग्रेस सांसद तथा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले संघ सरकारबाट ३ करोडमाथि, प्रदेशबाट १ करोडमाथि र त्यसतलका योजना स्थानीय तहबाट हुने नीति यसै पटकदेखि पालना हुने बताए । ‘सांसदहरूको भावना ५/६ लाखको योजना पनि संघबाट हालिदिनुपर्छ भन्ने देखियो । तर, त्यस्ता योजना पालिका तहबाट मात्रै हुने गरेर सरकारले बजेट ल्याउँछ,’ सिंहले भने, ‘संघले ठूलो योजना मात्रै हेर्ने हो, ३ करोडतलका योजना प्रदेश र पालिकाबाट तय हुनेछन्,’ उनको भनाइ थियो । कान्तिपुर