समाचार

२४ घण्टामा विपदमा परेर चार जनाको मृत्यु



काठमाडौँ, ४ जेठ । विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रिमनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ५० जिल्ला प्रभावित भएका छन् ।

हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु र २१ जना घाइते भएका छन् । चट्याङबाट दुई, जनावरको आक्रमणबाट चार र लेक लागेर एकजना घाइते भएका छन् । शुक्रबारको २४ घण्टाको अवधिमा ५० जिल्लामा ९४ वटा विपद्का घटना भएको छन् ।

ती घटनाहरूबाट रु एक करोड आठ लाखको अनुमानित आर्थिक क्षति भएको प्राधिकरणले जानकारी गराएको छ । ती घटनाबाट दुईवटा पशुचौपायसमेत मरेका छन् । प्राधिकरणबाट प्राप्त विवरणमा सबैभन्दा बढी हावाहुरीका ५९ र आगलागीका १६ वटा घटना भएका छन्। अन्यमा चट्याङ, पहिरो, बाढी, अविरल वर्षाका घटना भएका छन् ।