काठमाडौँ, ५ जेठ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । सागरनाथ वन अतिक्रमण गरी खानीजन्य पदार्थबाट संकलित राजस्व तथा भरत ताललगायत संरचना निर्माणको क्रममा संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित बजेट उनीहरूले हिनामिना गरेको अख्तियारले अभियोग लगाएको छ । अख्तियारले उनीहरू विरुद्ध ५६ करोड ७१ लाख बिगो मागदाबी गरेको छ ।
पूर्वमन्त्री यादव २०७४ को निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जसपाबाट प्रदेशसभामा निर्वाचित भई मन्त्री बनेका थिए । त्यस्तै बागमतीका मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तान माओवादीबाट २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधि हुन् । यसअघि दायर भएका भ्रष्टाचार मुद्दाले उनीहरू निलम्बित छन् ।
पालिकाकै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, प्रदेश मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल, बागमतीका तत्कालीन इन्जिनियर सागर पौडेल र अर्का इन्जिनियर नीरञ्जन लामिछाने, पालिकाका तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेललाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
अभियोगपत्रअनुसार पूर्वमन्त्री यादव र कानुन अधिकृत भुजेलविरुद्ध समान २९ करोड ९९ लाख बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ । मेयर थापा, उपमेयर मोक्तान तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पोखरेलविरुद्ध समान ५६ करोड ७१ लाख, तत्कालीन इन्जिनियर नीरञ्जन लामिछानेविरुद्ध १० करोड १४ लाख, नगरपालिकाकै इन्जिनियर सागर पौडेलविरुद्ध ४६ करोड ५६ लाख बिगो कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्