काठमाडौँ, ६ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि (आइटी) क्षेत्र विकासका लागि महत्वपूर्ण भएकाले यसमा पर्याप्त बजेट विनियोजन हुनुपर्ने बताउनु भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सोमबार भएको आर्थिक वर्ष २०८१/२०८२ को तेस्रो त्रैमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले यस विषयमा अर्थ मन्त्रालय गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
प्रगति समीक्षापछि मन्त्री गुरुङले भन्नुभयो, “आइटी क्षेत्र विकासका लागि महत्वपूर्ण हुँदा हुँदै पर्याप्त बजेट छैन । यसमा अर्थ मन्त्रालयले सहजीकरण गर्नुपर्ने हो तर त्यसो हुनसकेको छैन । बजेटबिना डिजिटल फेमवर्कको परिकल्पना पूरा गर्न सम्भव हुँदैन । यस क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने आवश्यकता छ ।”
विगतमा जस्तै पुँजीगत खर्चमा मन्त्रालयसमेत पछि परेको स्वीकार गर्दै उहाँले यसले कर्मचारीको कार्यक्षमतामा सुधार गर्नुपर्ने र मन्त्रालयबीच सहकार्य विकास गर्नुपर्ने देखिएको बताउनुभयो । निर्देशनात्मक सुझावसहित उहाँले भन्नुभयो, “पुँजीगत खर्च नबढ्नुका विविध कारण मध्ये एउटा कर्मचारीको कार्यशैली हो भने अर्को सम्बद्ध मन्त्रालयबीच समन्वय र संयोजनको भूमिका प्रभावकारी नदेखिनु हो ।”
मन्त्री गुरुङले तोकिएका ‘माइलस्टोन’ पूरा गर्न र असार मसान्तसम्म मन्त्रालयअन्तर्गतका सबै निकायलाई पुँजीगत खर्च बढाउने गरी कार्यसम्पादन गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्