समाचार

बैतडीमा हुरी र असिनापानीका कारण एक जना घाइते



बैतडी, ६ जेठ । हुरी र असिनापानीका कारण बैतडीमा एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सोमबार बेलुका आएको हुरीसँगैको वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको छ । हुरीले सिँगास गाउँपालिका-२ मैतडका विष्णु बोहराको दुईतले जस्तापाताले छाएको घरको छाना उडाएको छ ।

छाना उडाउँदा जस्तापाता लागेर घरभित्र बसिरहेका १४ वर्षीय टेकेन्द्र बोहरा घाइते भएका छन् । टेकेन्द्रको टाउकोमा चोट लागेको छ । 

उनका अनुसार सिँगास-५ खैरकोट, सल्याली, ढुङ्गाडका केही घरमा पनि हुरीले क्षति पुगेको छ । पाटन नगरपालिका-८ धारीमा एकतले जस्तापाताले छाएको सामुदायिक भवनको छानो उडाएको छ । सो भवनको छानो उडेर नजिकै रहेको विनोद महराको घरबाहिर बाँधेको पाडोलाई लागेर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए ।