समाचार

चार वर्षमा चट्याङबाट २३७ को मृत्यु



काठमाडौँ, ६ जेठ । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् ।

कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका अनुसार नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोखिममा रहेको छ । 

विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने गर्दछ । 

विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका दुई सय ९५ वटा घटना हुँदा तीन सय ६६ घर यसबाट प्रभावित बनेका, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका छन् । कोशीमा चट्याङका कारण रु एक करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने चार सय २० वटा चौपाया मरेका छन् । 

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने रु तीन करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ । लुम्बिनीमा दुई सय ७६ परिवार चट्याङबाट प्रभावित, एक सय ६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका छन् ।

सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन् ।