राजनीति

राष्ट्रिय सभाको भोलिको बैठकको सम्भावित कार्यसूची सार्वजनिक



काठमाडौँ, ६ जेठ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक भोलि बुधबार अपराह्न १:१५ बजे बस्ने भएको छ। संघीय संसद सचिवालयले मंगलबार बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।  

जसअनुसार चारवटा मुख्य एजेन्डामा छलफल तथा प्रस्तुति हुने कार्यक्रम तय भएको छ । बैठकको प्रारम्भमा सभाध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा सभा समक्ष जानकारी गराउनेछन् ।

त्यसपछि विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । 

बैठकको अन्तिम एजेन्डामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले “पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सभा समक्ष पेश गर्ने राष्ट्रिय सभा महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सम्भावित कार्यसूचीमा उल्लेख छ ।