राजनीति

सबैतिर भ्रष्टाचार र अनियमितता छ : शेखर कोइराला



काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले दण्डहीनतालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित बदलिँदो विश्व परिवेशमा नेपालले अंगाल्नुपर्ने आर्थिक नीति विषयक अन्तर्क्रियामा बोल्दै उनले भ्रष्टाचारमा लिप्त भएकै कारणले मुलुक बन्न नसकेको टिप्पणी गरे ।

उनले अमेरिका, बेलायत लगायतका मुलुकमा बसोबास गर्ने अथवा काम गर्नेले नेपालमा पैसा पठाउनुको साटो यहाँका घरजग्गा बिक्री गरेर उतै घरबार जोड्ने गरेको उल्लेख गरे । ठूला देशमा बस्नेहरूबाट भन्दा खाडीमा श्रम गरेका नेपालीले मुलुकको अर्थतन्त्र धानेको उनको भनाइ थियो । सबैतिर भ्रष्टाचार र अनियमितता रहेको भन्दै आलोचना गरे । 

“हामी देश बनाउन नसक्ने होइनौँ, हामी अल्मलिएका छौँ । सबैतिर भ्रष्टाचार छ । सरकारले दण्डहीनतालाई प्रोत्साहन दिनुहुँदैन । त्यसको अन्त्य गर्नुपर्छ । त्यति कुरा हामीले रोक्न सक्यौँ भने नेपाललाई बनाउन सकिन्छ । देश बनाउने इच्छाशक्ति प्रधानमन्त्री र सरकारको हुनुपर्छ । मुलुकको अर्थतन्त्रमा देखिएको चहलपहल रेमिट्यान्सबाटै हो । देशको अर्थतन्त्र खाडीमा गएका नेपालीहरूले धानिरहेका छन्,” उनले भने ।