कञ्चनपुर, ७ जेठ । सरकारले कञ्चनपुरका सात वटा वडालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
गत वर्षको बाढीले महाकाली नदीमा भत्किएको गाइडबन्ड (बाँध) निर्माणमा ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले महाकाली पुल, पुलको पहुँच मार्ग र आसपासका बस्तीमा जोखिममा रहेकाले उक्त क्षेत्र निकै संवेदनशील रहेकाले विपद् सङ्कटग्रस्त क्षेत्रको घोषणाका लागि गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस बमोजिम मन्त्रिपरिषद्को बैठकले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ३, ८, ९, १० लाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भए पनि उक्त क्षेत्रमा कसरी काम गर्ने भन्नेबारे माथिल्लो निकायबाट कुनै जानकारी नआएको बताए ।
प्रतिक्रिया दिनुहोस्