कञ्चनपुर, ९ जेठ । कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना सङ्कलन गरी प्रयोगशालामा जाँच गर्दा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला पारेको छ ।
एकाइ कार्यालयका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टका अनुसार शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सञ्चालनमा रहेका छवटा पसलबाट सङ्कलन गरिएका १० वटा तरकारीका नमूनामध्ये तीतेकरेलामा उपभोग गर्नै नहुने मात्रामा विषादीको अवशेष पाइएको छ । करेलाको नमूना परीक्षण गर्दा कार्वामेट १४ दशमलव ८५७ र अर्गानोफस्फेट ६० दशमलव ५९९ प्रतिशत रहेको पाइएको छ ।
“तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा भए केही दिन राख्ने र पर्खने विषादीको मात्रा घटेको पाइए मात्र खानयोग्य हुन्छ, क्वारेन्टाइन गर्नुपर्ने हुन्छ”, एकाइ कार्यालयका नायब प्राविधिक सहायक भट्टले भने, “विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी पाइए विर्सजन (नष्ट) गर्नुपर्ने हुन्छ, खानयोग्य हुँदैन ।”
प्रतिक्रिया दिनुहोस्