बुटवल, १० जेठ । लुम्बिनी प्रदेश सभाको आठौँ बैठक आज (शनिबार) दिउँसो २ बजे बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार छैटौँ अधिवेशनको आठौँ बैठकमा विशेष समयमा विपक्षी दलका नेता तथा पूर्व मुख्यमन्त्री जोख बहादुर महराले सभामा बोल्ने कार्यसूची छ ।
त्यसपछि आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथि भइरहेको छलफललाई सभामुख तुलाराम घर्ती मगरले निरन्तरता दिनेछन् । छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्यले दिने कार्यसूचीमा समावेश गरिएको छ ।
मुख्यमन्त्री आचार्यबाट नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने समेत कार्यसूचीमा समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्