Banner News

जापान भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री आरजु राणा



काठमाडौँ, ११ जेठ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफूले हालै सम्पन्न गरेको पाँचदिने जापान भ्रमण उपलब्धिमूलक रहेको बताएकी छन् ।

जापान भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएपछि उनले आफ्नो भ्रमणका क्रममा जापानका विदेशमन्त्रीसहित विभिन्न महत्त्वपूर्ण व्यक्तिच्वसँग भेटवार्ता भएको बताएकी हुन् ।

भेटका क्रममा नेपाल–जापान सहयोग एवं विभिन्न परियोजनाका बारेमा कुराकानी भएको बताउँदै ती भेटवार्ताहरू देशका लागि उपलब्धिमूलक रहेका जानकारी दिइन् ।

उनले भनिन्, “यस भ्रमणका क्रममा नेपाल–जापान सम्बन्धका विविध विषयहरूका साथै नेपालमा जापानको सहयोग र परियोजनाहरूका बारेमा कुराकानी भयो । सम्मेलनमा ज्येष्ठ नागरिकहरूका सम्बन्धमा अन्य देशले अपनाएका नीति, त्यहाँका अवस्था तथा व्यवस्थाहरूका बारेमा पनि जान्ने मौका मिल्यो,” ।

परराष्ट्रमन्त्री डा. राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच यही जेठ ८ गते टोकियोमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटका अवसरमा नेपाल–जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको उनले जानकारी दिइन् ।

त्यसैगरी यही जेठ ९ गते जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी, जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोसँग पनि भेटवार्ता गरेकी थिइन् । सो भेटमा मन्त्री डा. राणाले नेपालको आर्थिक, सामाजिक लगायतका विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत् जापान सरकारले पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै जाइकाको सहयोगमा नेपालमा सञ्चालित र सम्पन्न परियोजनाहरूका बारेमा कुराकानी गरेकी थिइन् ।