राजनीति

संसद् अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम : महेश बर्तौला



काठमाडौँ, १३ जेठ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि अख्तियारले गरेको अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको बताएका छन् । 

आज संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले देशका धेरै कर्मचारीमाथि अनुसन्धान र कारबाही समेत भएको अवस्थामा कर्मचारीसँग जोडेर मन्त्रीलाई जवाफदेही बनाउने काम उचित नभएको समेत बताए । “राजनीतिलाई प्रतिशोधको मसला बनाउने गरी विपक्षी दलका केही सांसदहरूले अभिव्यक्ति दिनुभएको छ,” उनले भने । 

बर्तौलाले राज्यका अंगहरूले स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनेको भन्दै विभिन्न पदमा रहेका व्यक्तिमाथि अख्तियारले छानबिन गर्ने गरी प्रक्रिया अघि बढाएको धारणा राखे ।

भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीहरूलाई कारबाही गर्नुपर्नेमा एमाले दृढ रहे पनि अहिले नै हतारमा कसैलाई दोषी देखाउने काम उचित नभएको स्पष्ट पारे ।