राजनीति

एमालेमाथि चौतर्फी प्रहार भइरहेको छ : महासचिव पोखरेल



काठमाडौँ, १३ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको उज्यालो भविष्यमाथि चौतर्फी प्रहार भइरहेको बताएका छन् । 

आज पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले एमालेमाथि भइरहेको चौतर्फी प्रहारलाई सामना गर्नुपर्ने बताएका हुन् । 

महासचिव पोखरेलले विद्यालयस्तरमै गणतन्त्रबारे पढाउनुपर्ने बताउदै उनले यसपटक जेठ १५ गते एमालेले गणतन्त्र दिवसलाई जनताको उत्सवको दिनका रुपमा मनाउने तयारी गरेको पनि बताए । राष्ट्रिय स्वाधीनता र रक्षाका लागि सबैभन्दा बढी खटिँदै बलियो शक्तिका रुपमा एमाले स्थापित भएका कारण नियोजित ढङ्गले सबैभन्दा बढी प्रहार एमालेमाथि भइरहरेको उनले बताए । 

उनले गणतन्त्र प्राप्तिपछि केही पनि भएको छैन भन्ने भ्रम चिर्नलाई पनि गणतन्त्र प्राप्तिपछि सामाजिक, सांस्कृतिक, आर्थिक, विकास निर्माण, शैक्षिक लगायतका क्षेत्रमा भएका उपलब्धिबारे जानकारी गराउन  र नयाँ पुस्तालाई सूसुचित गराउन विद्यालय शिक्षामा गणतन्त्र र यसको उपलब्धिबारे पढाउनुपर्नेमा उनले जोड दिए ।