Banner News

प्रधानमन्त्रीलाई विश्वप्रकाशको पत्र– बजेटमा हिमाल देख्न पाइयोस्



काठमाडौँ, १४ जेठ । सगरमाथाको बेसक्याम्प तीन नजिक पुगेर काठमाडौँ फर्किएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा दोस्रो पत्र लेखेका छन् ।

उनले सरकारको आगामी बजेटमा हिमाल पनि समेटियोस् भन्ने अपेक्षा गरेका छन् । 

‘सरकारले हाम्रा ८ उच्च हिमाल सगरमाथा, ल्होत्से, मकालु, कंचनजंगा, चोयु, धवलागिरि, मनासलु र अन्नपूर्ण लगायत अन्य हिमालमा नियमित रूपमा कार्य गरिरहेका व्यावसायिक आरोहीहरूको विवरण सङ्कलन स्थानीय तह मार्फत एक निश्चित उमेरपछि ससम्मान बिदाइ गरेर हातमा पेन्सन पट्टा थमाउने व्यवस्था सरकारले गर्नपर्छ’ उनले पत्रमा उल्लेख गरेका छन् । 

‘प्रविधिको यो जमानामा प्रकृतिको सुन्दर काख बेसक्याम्पमा सरकारको एक थान सञ्चार टावर छैन । बेसक्याम्प र क्याम्प टुमा चलाइएका नेटवर्क न सरकारका हुन् न सरकारको पहुँचमा छन् । जीवनमा एकपटक सगरमाथा बेसक्याम्प पुग्ने सपना बोकेर त्यहाँ पुगेका कुनैपनी विदेशी पर्यटकले आफ्नो खुसी तुरुन्तै आफ्नो परिवारसँग बाँड्न सक्दैनन्’, पत्रमा भनिएको छ । 

उनले थप भनेका छन्-‘सगरमाथाको पिकमा जो पुग्छन् तिनको मोबाइलमा अटो नियन्त्रण चिनियाँ समयको भइसक्छ । उताको टावरले अतिक्रमण गर्‍यो भनेर वक्तव्य दिएर हुन्न, आफ्नो टावरको स्थापना र त्यसको क्षमताको दायरा बलियो बनाउनु हाम्रो सरकारको कर्तव्य हो । यो संवेदनशील प्रश्नमा सरकारको गम्भीर ध्यान अविलम्ब पुगोस् । ‘