राजनीति

बजेट भाषणमा विपक्षीले संसद् अवरोध नगर्ने



काठमाडौँ, १५ जेठ । भिजिट भिसाको आवरणमा मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका विपक्षी दलहरूले सरकारलाई आगामी आर्थिक वर्षको बजेट पेस गर्न भने दिने भएका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) बिहीबार संघीय संसद्मा प्रस्तुत गर्दा विपक्षी दलले अवरोध नगर्ने निर्णय लिएका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालको कार्यकक्षमा बुधबार बसेको विपक्षी दलहरूको बैठकले संवैधानिक बाध्यताका कारण सरकारलाई संसद्मा बजेट पेस गर्न दिने निर्णय गरेको छ । आगामी आर्थिक वर्षको बजेट १५ जेठमा संघीय संसद्को संयुक्त बैठकमा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । बजेट प्रस्तुतपछि कसरी अगाडि बढ्ने भन्ने विषय सरकारको कदममा भर पर्ने विपक्षी दलका नेताहरूले जनाएका छन् ।