समाचार

बंगालादेशी नागरिकलाई बन्धक बनाएको आरोपमा ५ भारतीय पक्राउ



काठमाडौँ, १५ जेठ । नेपाल घुम्न आएका बंगलादेशका नागरिकहरूलाई बन्धक बनाएको आरोपमा प्रहरीले ५ जना भारतीयलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आरोपीहरूले ललितपुर महानगरपालिका–१५ स्थित एक घरमा बन्धक बनाएर आफन्तसँग फिरौती मागेका हुन् । 

पक्राउ पर्नेमा भारतको नयाँ दिल्ली घर भएर ललितपुर बस्ने ३८ वर्षीय शिव सौरभ, पन्जाब घर भएका ३२ वर्षीय दीपक कुमार, ३६ वर्षीय संदिप कुमार, ३८ वर्षीय जसप्रित सिंह र ६४ वर्षीय रमेश जाधव छन् ।

उनीहरूलाई परिसर काठमाडौँ र गौशालाबाट खटिएको टोलीले काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । जेठ १४ मा काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।