भक्तपुर, १७ जेठ । सुन्दर, सफा र मनोरम सहर निर्माणको महत्वपूर्ण जिम्मेवारी संहालिरहेको नेप्सेम्याक सेवा प्रालिले भक्तपुरको अरनिको राजमार्ग सरसफाई अभियान शुरु गरेको छ ।
विश्व वातावरण दिवशको अवसरमा नेप्सेम्याकले सडक सरसफाई अभियान चलाएको हो । सूर्यविनायक नगरपालिका वडा नंं ६ चुनदेवीदेखी मध्यपुर थिमी नगरपालिका शंखधर चोकसम्म सरसफाई, वोटविरुवा संरक्षण, गोडमेल, विरुवामा पानी हाल्ने, धुलो तथा फोहोर हटाउने लगायका वातावरण संरक्षणका कार्यहरु शुरु गरेको हो । नेप्सेम्याकको उक्त अभियान ‘सडकलाई टल्काउने स् विकास र समृद्धिलाई झल्काउने’ अभियान सञ्चालन गरेको नेप्सेम्याक भक्तपुर शाखाका प्रवन्धक बाबुराम चौलागाईले बताउनुभयो ।
विश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन शुरु गरिएको हो । वातावरण संरक्षण र प्रवद्र्धन गर्ने लक्षका साथ सञ्चालनमा रहेको नेप्सेम्याकले उक्त अभियान नियमित रुपमा १५ दिनसम्म चल्ने प्रवन्धक चौलागाईले जानकारी दिनुभयो ।
‘स्वच्छ जीवन : सुन्दर भविष्यको आधार’ भन्ने मान्यतालाई आत्मसात् गर्दै नेप्सेम्याकले सामाजिक कार्यलाई विगतदेखी नै निरन्तरता दिइरहेको छ । आज शाखा प्रवन्धक चौलागाईंको प्रमुख उपस्थितमा सल्लाघारी कटुन्जे चोकदेखि चुनदेबी धमला डेरीसम्म अरनिको राजमार्ग दायाँ बायाँ रोपेका बिरुवा संरक्षण र सम्बर्द्धन अन्तर्गत गोडमेल गरिएको छ । नेप्सेम्याकले स्थानीय सरकारको जिम्मेवारीमा रहेको वातावरण संरक्षणको मेरुदण्डको रुपमा कार्य गर्दै आइरहेको छ ।
नेप्सेम्याकले उक्त स्थानको हरियालीको संरक्षण तथा प्रवद्र्धनको भूमिका निर्वाह गरेको छ । शाखा प्रवन्धक चौलागाईले भन्नुभयो, ‘अरनिको राजमार्गको हरियाली निर्माण, संरक्षण तथा प्रवद्र्धनको जिम्मेवारी हाम्रो भएकाले सोही अनुसारको जिम्मेवारी हाम्रो कर्मचारीले स्वतस्फुर्त रुपमा पुरा गरेका हौं । आगामी दिनमा समेत निरन्तर गरिरहनेछौं । भक्तपुरका सडकहरु हरियाली तथा फाहोरमुक्त बनाउने हरसम्भव सहयोग गर्नेछौं । स्थानीय सरकारको सारथीको रुपमा काम गर्नेछौं ।’
प्रतिक्रिया दिनुहोस्