राजनीति

कांग्रेस कार्यालय ‘प्लास्टिकरहित’ बनाउने घोषणा



ललितपुर, १९ जेठ ।नेपाली कांग्रेसले केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्म नै ‘प्लास्टिकरहित’ बनाउने घोषणा गरेको छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २२ गते बिहीबारदेखि लागु हुने गरी कांग्रेस केन्द्रीय कार्यालय, सङ्घीय र प्रदेशका संसदीय दलको कार्यालय र प्रदेश कार्यालय प्लास्टिकरहित बनाउने घोषणा गर्नुभएको हो । 

उहाँले विश्व वातावरण दिवसकै सन्दर्भ पारेर जिल्ला कार्यालय, प्रतिनिधि सभा क्षेत्रीय कार्यालय, प्रदेश सभा क्षेत्रीय कार्यालय, पार्टीको स्थानीय तहका कार्यालय, पार्टीका सबै वडा कार्यालय, भ्रातृ एवं शुभेच्छुक संस्थाका कार्यालय र विदेशस्थित नेपाली जनसम्पर्क समितिका कार्यालय प्लास्टिकरहित क्षेत्र बनाउने बताउनुभयो । उहाँले वातावरणीय प्रदूषण न्यूनीकरण गर्दै लगिने पार्टीको नीति रहेको प्रस्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “सहजताका नाममा प्लास्टिकको प्रयोगले वातावरणमा पारिरहेको नकारात्मक प्रभावबाट अब माथि उठ्नुपर्ने समय आएको छ । यस अभियानमा पार्टीका सबै तहबाट सहयोग र समर्थन रहने विश्वास लिएको छु । अब ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रूपमा लिएर विश्वले कार्बन उत्सर्जनमा तीव्र कटौती गर्न आवश्यक छ । केही राष्ट्रहरूले उत्सर्जन बढाइरहँदा, हामी जस्ता जलवायु परिवर्तनका दृष्टिकोणले संवेदनशील राष्ट्रहरूले त्यसको असर भोगिरहनु अन्यायपूर्ण र दुःखद अवस्था हो ।”