काठमाडौँ, १९ जेठ । अछाममा सोमबार साँझ करिब ५:०० बजे आएको भीषण हावाहुरीले जिल्लाभरका विभिन्न ठाउँहरूमा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकाका दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ ।
सबैभन्दा बढी क्षति पञ्चदेवल विनायक नगरपालिका–२ मा बसोबास गर्ने हवाजै कामीको घर वरपर देखिएको छ । बगैँचामा रहेको रुखको हाँगा भाँचिएर शौचालय र सोलार प्यानल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । त्यस्तै सो ठाउँको लेख काडाँगाउँकी पवित्रा देवी धामीको दुई तले चारकोठे कच्ची घरको छाना उडाएको छ ।
पञ्चदेवल विनायक–३ का सिरे कामीको जस्तापाताले छाइएको दुई तले घरको छाना उडाएको छ भने, नादीमा बस्ने तप्तराज तिमिल्सेनाको घरमा भने मेलको रुख भाँचिएर घरमाथि खसेपछि घर पूर्ण रूपमा भत्किएको छ ।
रामारोशन गाउँपालिका–५, नेटाकोटस्थित यशोदा माविको दुई तले एक कोठे भवनको टिनको छाना उडाएको छ। त्यस्तै, सोही ठाउँका शक्ति बहादुर साउदको गाडी राख्ने ग्यारेजको छानासमेत हावाहुरीले उडाएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार हालसम्म प्राप्त विवरणअनुसार घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति नभएको पुष्टि भएको छ । यद्यपि, प्रभावित परिवारहरूले दैनिक बसोबासमा कठिनाइ भोग्नुपरेको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्