Banner News

जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ : महासचिव पोखरेल



काठमाडौँ, २२ जेठ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । 

ललितपुरको च्यानलस्थित एमाले बागमती प्रदेश कमिटीको कार्यालयमा बागमती प्रदेशअन्तर्गतका विभागीय प्रमुख, सचिव, जनसङ्गठन इन्चार्ज तथा प्रमुखको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले जनतालाई पार्टीमा जोड्न सके मात्र पार्टी बन्ने बताए । 

महासचिव पोखरेलले पार्टी र सङ्गठनमा काम नगर्नेहरूले जिम्मेवारी लिनु नहुने बताए। उनले जसका लागि काम गर्ने हो त्यही समुदायमा नरहने व्यक्तिले जिम्मेवारी पूरा गर्न नसक्ने बताए । उनले पार्टी र सङ्गठन निर्माणका बारेमा गम्भीर भएर सोच्ने बेला आएको बताए ।

“हामी पार्टीका नेताहरूलाई पदीय जिम्मेवारी दिने अर्थमा मात्र जनसङ्गठन बनाइरहेका छौँ, काम गर्न समुदायमा पुग्ने हिसाबले सङ्गठन निर्माण भएकै छैन, हाम्रा जनसङ्गठन पार्टीका नेताहरूलाई व्यवस्थापन गर्ने थलो भएका छन्”, पोखरेलले भने, “पार्टीको राजनीतिले मात्र जनाधार विस्तार हुँदैन, त्यसलाई समुदायमा आधारित बताउनुपर्छ ।”