समाचार

आजको मौसम



काठमाडौँ, २२ जेठ । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । हरेक प्रदेशका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशलगायत बागमती,  गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका  ‍एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।