राजनीति

संविधान संशोधनको प्रक्रिया प्रक्रिया सुरू गर्नुपर्छ : नेता कोइराला



काठमाडौँ, २२ जेठ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला संविधान संशोधनका विषयमा सहमति भएको उल्लेख गर्दै त्यसका लागि सुरूआत गर्नुपर्ने बताएका छन् ।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै पछिल्लो घटनाका सम्बन्धमा उनले आफूले अपेक्षा गरेअनुसार हुन नसकेको उल्लेख गर्दै संसद्मा आरोपप्रत्यारोप हुन नहुने धारणा व्यक्त गरे । उनले सर्वसाधारण जनतामा छाएको निराशालाई हटाउन सरकारसँगै सबै लाग्नुपर्ने उल्लेख गर्दै यसमा आफ्नो पार्टीले सक्दो भूमिका निर्वाह गरिरहेको बताए ।

“संसद्ले नीति बनाउने हो । अहिले जे भइरहेको, जति कुरा आइरहेका छन् । त्यसलाई निकाश दिने बाटोहरू खोज्दै जानुपर्छ । त्यो राजनीतिक दलहरू मिलेर नै खोज्नुपर्ने हुन्छ,” उनले भने, “वर्तमान सरकार बन्दाखेरी नै संविधान कार्यान्वयनमा देखिएका जटिलताका सम्बन्धमा संशोधनको सहमति हो । यो ठीक छ । त्यसलाई गलत भन्दिन । त्यही कारणले सरकार बनेको हुनाले प्रक्रिया सुरू गर्नुपर्‍यो । समिति बनाउनुपर्‍यो । समयजति लागे पनि सुरूआत त गर्नुपर्‍यो नी ।”