समाचार

गोली फायरिङ र धारिलो हतियार प्रहार, एक जनाको मृत्यु



सप्तरी, २३ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिकामा डकैतीपछिको धारिलो हतियारको प्रहार र गोली फायरिङका कारण एक जनाको मृत्यु भएको छ ।  

सप्तरी प्रहरीका अनुसार आज राति १ बजे सुरुङ्गा नगरपालिकाको वडा नम्बर ८ स्थित कान्तलाल चौधरीको घरमा अपरिचित समूह लुटपाट गर्न आएको थियो । सोही क्रममा धनमाल चोरी गर्न नदिँदा अपरिचित डाँका समूहले प्रहार गरेको धारिलो हतियार र गोली फायरिङ्गका कारण घरधनी चौधरीको मृत्यु भएको हो । 

सो क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् । मृतकका चौधरीलार्इ बचाउन जाँदा छिमेकी रामाकान्त चौधरी घाइते भएका हुन् । सप्तरी प्रहरीका अनुसार डकैत समूहद्वारा भएको धारिलो हतियारको प्रहार र गोली फायरिङ्गका कारण चौधरीको घटनास्थलमै मृत्यु भएको हो । 

तर गोली लागेर हो वा धारिलो हतियारको प्रहारले चौधरीको मृत्यु भएको हो भन्नेबारे अहिलेसम्म यकिन नभइसकेकोले घटनाको सूक्ष्म अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ । 

डकैती समूहले घरबाट ५ तोला सुन, २ किलो चाँदी र केही नगदसमेत लुटेर लगेको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् ।

घाइते चौधरीको लहानस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।  हाल घटनाको थप अनुसन्धान जारी रहेको छ।