काठमाडौँ, २४ जेठ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अनौपचारिक अर्थतन्त्रका कारण आर्थिक, सामाजिक विकासलाई असन्तुलित बनाइदिएको दाबी गरेका छन् ।
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बजेट विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले राज्यका नीतिहरूका कारण अनौपचारिक अर्थतन्त्र बलशाली हुँदै गएको बताएका हुन् ।
उनले राज्यकै नीतिहरूमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीति रहँदै आएको र अहिले पनि त्यसमा सुधार हुन नसकेको स्पष्ट पारे । कोभिडपछि नेपालको अर्थ व्यवस्थाको सबैभन्दा ठुलो असर घरजग्गा कारोबार, सहकारी क्षेत्र, लघुवित्त लगायतमा प्रत्यक्ष असर देखिएको बताउँदै घरजग्गा कारोबारमा मन्दी आउँदा विकास निर्माणमा पनि त्यसको प्रत्यक्ष असर परेको दाबी उनले गरे ।
उनले भने, ‘हाम्रो राज्यका नीतिहरूका कारणले औपचारिक अर्थतन्त्रभन्दा अनौपचारिक अर्थतन्त्र बलशाली भएर गएको छ । अनौपचारिक अर्थतन्त्रले हाम्रो आर्थिक सामाजिक विकासलाई असन्तुलित बनाइदिएको छ । राज्यकै नीतिहरूमा पनि अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहित गर्ने नीतिहरू रहँदै आए । अहिले पनि पूरै सुधार भएको छ भन्ने मलाई लाग्दैन ।’
प्रतिक्रिया दिनुहोस्