राजनीति

पतञ्जली जग्गा प्रकरणमा मैले कुनै अनुचित काम गरेको छैन : माधव नेपाल



काठमाडौँ, २४ जेठ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पतञ्जली जग्गा प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको दोहोर्‍याएका छन् ।

आज काठमाडौँमा पार्टीनिकट मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनमा उनले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरिएको बताए । नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको र त्यसलाई देखेर कतिपय व्यक्ति आत्तिएको उनको भनाइ थियो ।


अध्यक्ष नेपालले केही व्यक्तिलाई बदलाको भावनाले पोलिरहेको टिप्पणी गरे । त्यसकारण आफूमाथि भ्रष्टाचारको मुद्दा लगाइएको उनले जिकिर गरे ।

उनले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको बताए । देश र जनतालाई नोक्सान हुने केही काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिने उनले उल्लेख गरे ।

“भ्रष्टाचारको केस निर्णयको आधार चाहिन्छ । माधव नेपालले कसैसँग एक नयाँ पैसा घुस लिएको भए, एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु,” उनले भने ।