काठमाडौँ, २५ जेठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गत जेठ १५ गते रातिबाट नेपालको पूर्वबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ ।
आज दिउँसो कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्