एजेन्सी, २५ जेठ । इरानले अमेरिकाले आफू र अन्य ११ मध्यपूर्व तथा अफ्रिकी देशहरूका नागरिकहरूमाथि लगाएको यात्रा प्रतिबन्धको निन्दा गरेको छ ।
इरानले अमेरिकी प्रतिबन्धको कडा आलोचना गर्दै त्यो निर्णयलाई जातीय पूर्वाग्रही मानसिकताको प्रतिविम्ब भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको बुधवार एक कार्यकारी आदेशमा हस्ताक्षर गरी पहिलेको कार्यकालमा लागू गरिएको जस्तै व्यापक प्रतिबन्धहरू पुनः लागू गर्ने घोषणा गरेका थिए । यो निर्णय कोलोराडोमा आयोजित एक इजरायल समर्थक भेलामा भएको आगजनी आक्रमणपछि राष्ट्रिय सुरक्षाको आधारमा गरिएको हो ।
इरानी विदेश मन्त्रालयअन्तर्गत विदेशमा रहेको इरानी नागरिक मामिलाका महानिर्देशक अलिरेजा हाशेमी–रजा का अनुसार आउँदो सोमवारदेखि लागू हुने यो प्रतिबन्ध ‘अमेरिकी नीतिनिर्माताहरूमा जातीय श्रेष्ठताको सोच हाबी भएको स्पष्ट सङ्केत’ हो । उनले अमेरिकी निर्णयले इरानी तथा मुस्लिम समुदायप्रति अमेरिकी नीतिनिर्माताहरूको गहिरो वैरभाव दर्शाउने बताएको खबरमा उल्लेख छ ।
अमेरिकाले यात्रा प्रतिबन्ध लगाएका देशहरूमा इरानसहित अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, लिबिया, सोमालिया, सुडान र यमन छन् । यस्तै अमेरिकाले थप सात वटा देशका नागरिकहरूलाई पनि आंशिक रूपमा यात्रा प्रतिबन्ध लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्