अर्थ

किसानका आयआर्जनमा सघाउन ‘बाख्रा उपहार’



बागलुङ, २५ जेठ । बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छमहिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गरिन् ।

‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा महिलाहरूलाई एक सय चार बाख्राका पाठी वितरण गरेको छ । यसअन्तर्गत सापकोटाले उपहारमा पाठी प्राप्त गरेका हुन् । कालिका किसानले गत वर्ष पाएको बाख्राबाट जन्मेको पहिलो पाठी सापकोटालाई उपहारस्वरुप प्रदान गरेकी हुन् ।

बागलुङ नगरपालिकाको आर्थिक सहयोग, हेफरको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको व्यवस्थापनमा बागलुङ नगरपालिकाभित्रका १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम लागू गरिएको छ । 

आत्मनिर्भर बागलुङ कार्यक्रमअन्तर्गत मालिकामा गठित तीन अगुवा आमा समूहमार्फत गत वर्ष १९ बाख्राको पाठी प्राप्त गरेका महिलाले अहिले १९ पाठा उपहारमा छिमेकीलाई प्रदान गरेका छन् । कालिका किसानले गत वर्ष लगेको बाख्राबाट जन्मेको पाठी बिउँपुजीका रूपमा सापकोटालाई दिएकी हुन् । 

सुरुको वर्ष खरिद गरेर प्रदान गरेको बाख्राबाट जन्मेको पहिलो पाठी उपहारस्वरूप समूहकै अर्का सदस्यलाई दिनुपर्ने नियमानुसार असारभित्र नगरपालिकाका १० वडामा एक सय चार पाठी उपहारस्वरूप प्रदान गर्न थालिएको छ । उक्त उपहार कार्यक्रमले महिलालाई आयआर्जनमा सघाउने भएकाले आत्मनिर्भर बागलुङ कार्यक्रम सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरप्रमुख श्रेष्ठले उपहारस्वरूप १९ बाख्राका पाठी विपन्न तथा लक्षित महिलालाई वितरण गरेका थिए ।  

कार्यक्रमबाट दुई वर्षमै दुई सय आठ महिला लाभान्वित भएका छन् । आत्मनिर्भर बागलुङ कार्यक्रम १८ मूल समूहअन्तर्गत ७२ उपसमूह गठन भइसकेका छन् ।