अर्थ

पाल्पामा भेटिएको जडीबुटी यार्चागुम्बा भएको पुष्टि



पाल्पा, २६ जेठ । पाल्पाको रिमिघा लेक जंगल क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा पुष्टि भएको छ ।

रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र वडा ३ पीपलडाँडा क्षेत्र रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरले आइतबार पुष्टि गरेको हो ।

रम्भा गाउँपालिका र डिभिजन वन कार्यालयले यार्चाको प्रमाणीकरणका लागि कर्मचारी खटाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रिमिघा लेकमा झाडी सरसफाइ गरेर सामुदायिक वन क्षेत्रमा सुन्तलाका बिरुवा लगाउने तयारी गर्दा खाल्डो खन्ने क्रममा यार्चागुम्बा जस्तै देखिने प्रजाति भेटिएको थियो । त्यसपछि परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

प्रयोगशालाको रिपोर्ट आएपछि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत पोष्टराज न्यौपाने, डिभिजन वन प्रमुख नारायणदेव भट्टराईसमेतको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक बसेर जडीबुटी यार्चा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सुरक्षा समितिको बैठकले जडीबुटी संकलन, बिक्री वितरण कार्य व्यवस्थित गर्ने गरी अझै केही दिन रिमिघा लेक क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरेको जानकारी दिए । ‘रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चा नै भएको प्रमाणित भएको छ,’ प्रजिअ सुवेदीले भने, ‘तर त्यो कुन प्रकृतिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन ।’