रौतहट, २७ जेठ । रौतहटको गरुडास्थित कटहरिया सडकखण्डमा गएराति रोकिराखिएको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय गरुडाका अनुसार कटहरिया नगरपालिका–१, भसेडवाका २० वर्षीय संजय साहको मृत्यु भएको हो । उनी पनिलाल साहका छोरा हुन् । मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ वर्षीय राजन ठाकुर घाइते भएका छन् ।
ना ६ त ८१०६ नम्बरको ट्याक्टर ईँटा लोड गरी दुद्यीयाभार चौक नजिकै कालोपत्रे सडकमै बिग्रिएर रोकिराखिएको थियो। उक्त ट्याक्टरमा गरुडाबाट घरतर्फ जाँदै गरेको प्रदेश २–०३–०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल गएराति करिब १० बजे ठोक्किएको थियो ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा डाक्टरले संजय साहलाई मृत घोषणा गरेका थिए । घाइते ठाकुरको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।
दुर्घटनामा परेका मोटरसाइकल र ट्याक्टर दुवैलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ। ट्याक्टरको मालिक र चालक को हुन् भन्ने बारे खोजी कार्य तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्