Banner News

म जिल्ला जाँदा एमालेलाई सोध्नुपर्दैन : विद्या भण्डारी



काठमाडौँ, २७ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा वाम एकता तत्काल सम्भव नभएको बताएकी छन् । नेपालका कम्युनिष्ट पार्टीहरुबीच विश्वासको संकट रहेकाले एकता तत्काल सम्भव नभएको उनको भनाइ छ ।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा भण्डारीले वाम एकताको सम्भावनाका साथै सक्रिय राजनीतिमा आउने सम्भावना र अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको भाबी नेतृत्वबारे चलाइएका चर्चाबारे दिएको अभिव्यक्तिसँग सम्बन्धित जिज्ञासा समेत मेटाउने कोसिस गरेकी छन् ।

कुराकानीको क्रममा उनले आफू देश दौडामा निस्किँदा एमालेलाई सोध्नु नपर्ने समेत अभिव्यक्ति दिइन् ।

उनले भनिन्, “म देशको राष्ट्रपति भइसकेको मान्छे, पार्टीगत हिसाबले भन्ने हो भने पनि मैले संगठित सदस्यता लिनुभन्दा अगाडि देखि नै पार्टीमा काम गरेको । चिनजान ठूलै छ, समाजका अरु अरु क्षेत्रहरुमा पनि चिनजान हुन्छ । देशको परिचित व्यक्ति भएको नाताले मलाई कार्यक्रममा बोलाउनु स्वाभाविकै हुन्छ । त्यसकारण मैले पनि समाजसँग पनि साक्षात्कार भेटघाट गर्दै गर्नुपर्‍यो ।, केछ जनताको विचार आकांक्षाहरु, नयाँ पुस्ता के चाहन्छन् ? राष्ट्रिय आकांक्षालाई साकार गर्न हामी लाग्नुपर्छ, त्यो हाम्रो परम कर्तव्य हो । बाँचुन्जेल हामीले संघर्ष गर्नुपर्छ नयाँ पुस्ताको लागि र देशको लागि । त्यस हिसाबले म देशभित्र घुमफिर गर्न नेकपा एमालेका कमिटीहरु र नेताहरुसँग मैले अनुमति लिइरहनु पर्दैन ।”